काठमाडौँ । प्रहरीले काठमाडौँको टोखा नगरपालिका–३ मा दुई जना लागूऔषधका अभियुक्तलाई गोली प्रहार गरेर नियन्त्रणमा लिएको छ।
लागूऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक जनकबहादुर शाहीका अनुसार मंगलबार दिउँसो ३ बजे सो घटनामा ४० वर्षीय ससिक आलम र २२ वर्षीय मोहम्मद मन्जुर आलम घाइते भएका छन्।
प्रवक्ता शाहीका अनुसार सो क्षेत्रमा लागूऔषध कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा सादा पोशाकका प्रहरी टोली सोधपुछका लागि पुगेको थियो। सो क्रममा अभियुक्तले प्रहरीमाथि रड प्रहार गर्ने प्रयास गरेका थिए। आक्रमण भएपछि प्रहरीले गोली चलाएर अभियुक्तलाई नियन्त्रणमा लिएको हो।
उनका अनुसार दुई जना अभियुक्त भारतीय नागरिक रहेको र उनीहरुको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ।