काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले मतदाताको गुनासो र समस्या सुन्न डिजिटल प्लेटफर्म सञ्चालनमा ल्याएका छन्। काठमाडौँ-८ बाट निर्वाचित सांसद श्रेष्ठले आफ्ना मतदातासँगको पहुँच विस्तार गर्न गुनासो सुन्ने व्यवस्था मिलाएको बताएका छन्।
उनले भने, ‘आमनागरिकको सहजता र सुविधाका लागि प्रविधिको प्रयोग गरिएको हो।’ जनसेवाको भावनालाई समयअनुसार नयाँ प्रविधि र प्रणालीमा रूपान्तरण गर्दै लगिने उनले बताए।
सांसद श्रेष्ठले आफ्नो फेसबुक पेजमा क्युआरकोड राखेका छन्। त्यसलाई स्क्यान गरेपछि एउटा फाराम देखापर्छ। त्यो फारममा भएका सबै विवरण भरिसकेपछि गुनासा, सुझाव र समस्याहरू एकै ठाउँमा संकलन हुन्छन्। कुनै जिज्ञासा भएमा जबाफ पनि दिइने सांसद श्रेष्ठको भनाइ छ।