काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति तयारीमा जुटेको छ । केन्द्रीय बैंकले आगामी १५ साउनभित्र मौद्रिक नीति ल्याउन सरोकारवालासँग सुझाव माग गरेको हो । गभर्नर प्रा.डा.विश्वनाथ पौडेलको यो पहिलो मौद्रिक नीति हो। उनले वित्तीय क्षेत्रमा देखिएका पछिल्ला समस्या पहिचान र नीतिगत सम्बोधनका लागि स्थालगत निरीक्षण समेत सुरु गरेको अवस्था छ ।
केन्द्रीय बैंकको मौद्रिक नीति तर्जुमा कार्यविधि अनुसार आर्थिक वर्ष सुरु भएको १५ दिन अर्थात् १५ साउनभित्र मौद्रिक नीति ल्याइसक्नु पर्छ । सोही अनुसार आगामी १० असारसम्म मौद्रिक नीतिका लागि सुझाव दिइ सक्न केन्द्रीय बैंकले अनुरोध गरेको हो ।
पछिल्लो समय समग्र माग बढ्न सकेको छैन । आगामी आवको मौद्रिक नीति सुस्त रहेको अर्थतन्त्र चलायमान बनाउने तथा समग्र मागमा सुधार ल्याउने गरी आउने अपेक्षा सरोकारवालाको छ । तर, वित्तीय क्षेत्रको सम्पत्तिको गुणस्तरमा कमजोर भएको विषयमा भने केन्द्रीय बैंक होसियार हुनुपर्ने छ । केन्द्रीय बैंकले मौद्रिक नीतिका लागि सार्वजनिक रूपमा सुझाव माग गर्दै प्रक्रिया सुरु भएको जानकारी गराएको हो ।