काठमाडौँ । रौतहटको फतुवा विजयपुर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शम्भुकुमार यादव, तत्कालीन सह(लेखापाल नवीनकुमार यादव,जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले, तराई पोष्टका प्रकाशक रुपेन्द्र पटेल र प्रतिनिधि ओमप्रकाश यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
विज्ञापन नछापी झुटा विवरण प्रस्तुत गरेर सरकारी रकम भुक्तानी लिएको आरोपमा उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आयोगको अनुसन्धानमा आर्थिक वर्ष २०७८/७९ मा कृषकलाई वितरण गरिने स्प्रे टंकी खरिदका लागि बोलपत्र आह्वान तथा स्वीकृतिको सूचना क्रमशः जनसवाल राष्ट्रिय दैनिक र तराई पोष्टमा प्रकाशित भएको देखाइएको भए पनि प्रेस काउन्सिल नेपालबाट प्राप्त जानकारीअनुसार ती दुवै सूचनाहरू सम्बन्धित पत्रिकामा प्रकाशित नभएको पुष्टि भएको छ।
तर वास्तविक प्रकाशन नगरी झुटा नक्कली पत्रिका र बिल पेश गरी जनसवाल दैनिकलाई १ लाख ७२ हजार ८२५ र तराई पोष्टलाई ३९ हजार ४०० गरी कुल २ लाख १२ हजार २२५ को भुक्तानी गरिएको पाइएको आयोगको दाबी छ । सरकारी कागजातमा समेत केर मेट गरिएको पाइएको आयोगले जनाएको छ ।