काठमडौँ । सशस्त्र प्रहरी बलले सप्तकोशी नदीमा बेपत्ता गोताखोरको शुक्रबार बिहानैबाट खोजी कार्य सुरु भएको छ । यसक्रममा एक जनाको शव फेला परेको छ ।
सशस्त्र प्रहरी नायब उपरीक्षक सह–प्रवक्ता शैलेन्द्र थापाले आज बिहान जवान हरदेव राजवंशीको शव घटनास्थलबाट करिब तीन किलोमिटर दक्षिणमा फेला परेको जानकारी दिए ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी नदीमा शुक्रबार अपराह्न मनसुनजन्य विपद्को पूर्वतयारी अभ्यास गर्ने क्रममा हरदेव राजवंशी र सुरज साउद बेपत्ता भएका थिए । राजवंशी श्रीअन्तु गण इलाम दरबन्दी भई दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा र साउद १३ नम्बर गण पर्सा दरबन्दी भई छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत थिए ।
उनिहरुसहित ५६ जनाको टोली बिहीबार ७ः४५ बजेदेखि नै विपद उद्धार अभ्यासका लागि कोशी नदीमा खटिएको थियो । सो क्रममा दिउँसो ३ बजेर १० मिनेटमा बेपत्ता भएका थिए ।
उनिको खोजीमा दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरी, ६ नम्बर गण सप्तरी र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट विशेष तालिमप्राप्त गोताखोरसहित करिब ६० जनाको सुरक्षा फौज खटाइएको छ ।
सो क्रममा दिउँसो १५ः१० बजे नं. १ श्रीअन्तु गण इलाम दरबन्दी भई दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा कार्यरत सशस्त्र प्रहरी हरदेव राजबंशी र नम्बर १३ गण पर्सा दरबन्दी भई नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत सप्रज सुरज साउद कोशी नदीमा बेपत्ता भएका हुन् ।