काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओली सुरुदेखि नै आफूविरुद्ध लागेको बताएका छन् ।अख्तियारले भ्रष्टाचारको मुद्दा दर्ता गरेपछि रौतहटका सञ्चारकर्मीहरूले सोधेको प्रश्नको प्रश्नको जवाफमा पूर्वप्रधानमन्त्री नेपालले यस्तो बताएका हुन् ।
‘सिधा कुरा हो, उहाँ (केपी ओली) मेरो विरुद्धमा सुरुदेखि लाग्नुभएको पनि हो । मेरो राजनीतिक करिअर समाप्त पार्ने उहाँको नियत नै हो,’ उनले भने, ‘पहिले पनि पटकपटक कोसिस गर्नुभएको हो । उहाँ बदलाको भावनाबाट चल्ने मान्छे हो ।’
पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपाल लगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि यस्तो प्रतिक्रिया आएको हो ।
अख्तियारले पतञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ ।