काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णुप्रसाद पौडेलविरुद्ध अदालत अवहेलनाको मुद्दा सर्वोच्च अदालतमा दायर गरेका छन्।
उनले संविधान र सर्वोच्च अदालतको आदेशको अवहेलना गरेको भन्दै प्रधानमन्त्री र अर्थमन्त्रीलाई अदालतमा उपस्थित गराई हदसम्मको सजायको माग गरेका छन्। उक्त मुद्दा सर्वोच्चमा पेस भएपनि दर्ता हुने प्रक्रियामा रहेको बताइएको छ ।
त्रिपाठीले दायर गरेको निवेदनमा संविधानको धारा १२८ (४) र न्याय प्रशासन ऐन, २०७३ को दफा १७ (४) को उल्लंघन गर्दै अदालतको आदेशलाई निष्प्रभावी तुल्याउने कार्य प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलबाट भएको उल्लेख छ। निवेदनमा अदालतले २४ घण्टाभित्र प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेललाई उपस्थित गराई बयान लिई आवश्यक कारबाही गर्न आदेश दिन आग्रह गरिएको छ।