बागलुङ । काठेखोला गाउँपालिकाले महिलालाई आय(आर्जनसँग जोडेर आत्मनिर्भर बनाउन थालेको छ । ग्रामीण क्षेत्रका महिलालाई कृषि र पशुपालनमार्फत उद्यमसँग जोड्नका लागि बाख्रा उपहार दिएको हो ।
गाउँपालिका र हेफर संस्थाको सहकार्यमा महिलालाई दुई सय ४० वटा बाख्रा वितरण गरिएको छ । दुई वर्षदेखि गाउँपालिका र हेफरले काठेखोलाका महिलालाई समूहमार्फत उत्पादनसँग जोड्दै आएको हो । गाउँपालिकाले आठवटै वडाका महिलालाई बाख्रा उपहार दिइरहेको छ ।
यसै साता मात्र काठेखोला –७ रेशमा रहेका सङ्घर्षशील, शुभलक्ष्मी र उद्यमी स्वावलम्बी महिला समूहले उपहार समूहमा आबद्व सङ्घर्षशील, सयपत्री, सुसेली, लगनशील, सूर्यमुखी र शुभलक्ष्मी महिला समूहमा आवद्ध सदस्यलाई ५० वटा बाख्रा वितरण गरिएको छ । बाख्रा उपहार पाएपछि महिला खुसी भएका छन् ।
काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले बढ्दो बसाइँसराइ रोक्नका लागि आफूहरूले नागरिकलाई आयआर्जनसँग जोड्ने खालका कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।तीन सय ६० वटा बाख्रा वितरण गर्ने लक्ष्य रहेकामा हालसम्म दुई सय ४० मात्र वितरण गरिएको जनाइएको छ ।