काठमाडौँ । नेपालमा मनसुन भित्रिएलगत्तै वर्षा र बाढीपहिरोको जोखिम सुरू भएको छ । यही बिहीबार राति नेपालको पूर्वी क्षेत्रबाट मनसुन प्रवेश गरी कोशी प्रदेशमा फैलिएको थियो । त्यसको २४ घण्टा नबित्दै पूर्वी नेपालको विभिन्न क्षेत्रमा बाढीले क्षति पुर्याएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार आज बिहान परेको अविरल वर्षाका कारण धरान–धनकुटा सडकखण्डको सागुरीगढी गाउँपालिका–६ स्थित फेदीको १०० मिटर सडक लेउती खोलाको बाढीले बगाएको छ ।
जसका कारण कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड अवरुद्ध भएको प्राधिकरणले जनाएको छ । जसले धनकुटा हुँदै जाने भोजपुर, सङ्खुवासभा, ताप्लेजुड, पाँचथरको यातायात ठप्प भएको छ । आजै झापामा माईखोलाको बाढीले २२ घर डुबानमा परेको पनि केसीले बताए । उनका अनुसार अहिले पानी घट्दो क्रममा रहेको र मानवीय जोखिम रहेको छैन । स्थानीयहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।
नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले पूर्वी नेपालको झापा तथा धरान धनकुटा सडक क्षेत्रमा बाढी पहिरोका घटना भएको र सो क्षेत्रमा उद्धार तथा नागरिकको सुरक्षाका लागि प्रहरी टोली परिचालन गरेर विपद् व्यवस्थापनको कार्य भइरहेको बताए ।पछिल्लो १२ घण्टामा कोशी प्रदेशका केही स्थानमा धेरै भारीदेखि अति भारी वर्षा भएको पनि विभागले जानकारी दिएको छ ।
पानी पार्ने प्रणाली अहिले उत्तरतिर सरिरहेको र थप पानी पर्नसक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले बुलेटिनमार्फत जानकारी गराएको छ ।