कोशी । शुक्रबार रातिको अति भारी वर्षापछि लेउती खोलामा आएको बाढीले धनकुटामा कोशी लोकमार्ग बगाएको छ। साँघुरीगढी गाउँपालिका वडा नम्बर ६ स्थित फेदी भन्ने ठाउँमा लेउती खोलाले कम्तीमा २५ देखि ३० मिटर पक्की सडक भत्काएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख एसपी शरदकुमार थापा क्षेत्रीलेले जानकारी दिए।
धनकुटामै बाढीले थप दुई ठाउँ बाटोमा अवरोध पुर्याएको छ। चौबीसे गाउँपालिका-४ मा छहरे खोलाले तमोर करिडोरको बाटो पनि भत्काएको एसपी क्षेत्रीले जानकारी दिए। यसले धनकुटाबाट पाँचथर–ताप्लेजुङ जोड्ने यातायात मार्ग पनि ठप्प पारेको छ।
साँघुरीगढी गाउँपालिकामै रहेको नमस्ते झरना नजिकै पनि बाढीले बाटो अवरोध गरेको थियो। त्यहाँको अवरोध भने प्रहरीले पन्छाएको छ।
सरदरभन्दा १५ दिन अगावै शुक्रबारबाट नेपालमा मनसुन प्रवेश गरेको थियो। मनसुनको पहिलो दिन नै पूर्वमा १२ घन्टाभित्र २०३ मिलिलिटरभन्दा माथि पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।