काठमाडौँ । सशस्त्र प्रहरी बलका डीआईजी गणेश बहादुर ठाडा मगरलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएको छ ।
बिहीबार गृह मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीको नेतृत्वमा बसेको बढुवा समितिले उनलाई एआईजीमा बढुवा सिफारिस गरेको हो ।सशस्त्र प्रहरीमा वैशाख २ मा एआईजी चन्द्रप्रकाश (सीपी) गौतम अवकाशमा गएसँगै उनको ठाउँ रिक्त थियो । वैशाख १४ मा बढुवा समितिले ७ दिनको सूचना प्रकाशन गरेको थियो ।
सूचना अनुसार ८ जना डिआइजीहरूले आवेदन फारम भरेका थिए ।दरखास्त फारम बुझाएका डिआइजीहरू कमल गिरी, शम्भु सुवेदी, कुलबहादुर नेम्वाङ, लक्ष्मण सिंह र प्रदीप कुमार पाललाई पछि पार्दै ठाडा एआईजीमा सिफारिस भएका हुन् ।
सशस्त्र प्रहरी स्थापना भएपछि भर्ना भएको पहिलो टोली सिसम–१ बाट डीआईजीद्वय सुरेश श्रेष्ठ र अन्जनी कुमार पोखरेलले पनि एआईजी बढुवाको फारम भरेका थिए ।