काठमाडौं । नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलम रिहा भएका छन् । इँटाभट्टमा जिउँदै मान्छे पोलेर ज्यान लिएको मुद्धामा जिल्ला अदालत रौतहटबाट जन्मकैद पाएका आलम उच्च अदालतले सफाइ दिएसँगै रिहा भएका हुन् ।
बुधबार राति नख्खु कारागारबाट उनी रिहा भएसँगै नेपाली कांग्रेसका कार्यकर्ताले उनलाई स्वागत समेत गरेका छन् । सफाइ दिने क्रममा उच्च अदालतले उनीमाथि लागेको आरोपसम्बन्धी घटना नै पुष्टि हुन नसकेको जनाएको छ ।
जिल्ला अदालत रौतहटले १३ वैशाख २०८१ मा आलमलाई जन्म कैदको फैसला सुनाएको घटनाका दुई मुख्य कडी नै पुष्टि हुन नसकेको कुरा उच्चको फैसलाको संक्षिप्त आदेशमा उल्लेख छ ।
उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका न्यायाधीश खुसीप्रसाद थारू र अर्जुन महर्जनले गरेको फैसलाको संक्षिप्त पाठमा आलामको घरमा बम पड्केको र इँटाभट्टामा मान्छे पोलेको दुवे घटना पुष्टी हुन नसकेको उल्लेख गरिएको छ ।