काठमाडौँ । गत १५ चैतमा काठमाडौँको तीनकुनेमा राजावादीहरूको प्रदर्शनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटसँग सम्बन्धित मुद्दा प्रहरीले आइतबार अदालतमा दर्ता गर्दैछ । मुद्दामा १०८ जनामाथि अभियोग लगाइने छ । ती अभियुक्तहरूविरुद्ध ५ वटा मुद्दा लगाउने प्रहरीको तयारी छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका अनुसार घटनामा संलग्नविरुद्ध आपराधिक उपद्रव, राज्यविरुद्धको अपराध, संगठित कसुर, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा लगाइने छ ।
जिल्ला प्रहरी परिसर काठमाडौैंले गत १५ चैतदेखि नै घटनाको अनुसन्धान गर्दै आएको थियो । तीनकुने हिंसात्मक घटनामा १७० भन्दा धेरै पक्राउ परेका थिए, जसमध्ये ५३ अभियुक्त प्रहरी हिरासतमै छन् । उनीहरूविरुद्ध बिहीबार मात्रै २ दिनको म्याद थप भएको थियो ।
राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले गरेको प्रदर्शन हिंसा, तोडफोड, आगजनी र लुटपाटमा परिणत भएको थियो । घटना अनुसन्धानको अवधि आइतबार ६० दिन पूरा भएको छ । तीनकुने घटनामा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, जनआन्दोलन समितिका कमान्डर दुर्गा प्रसाईंलगायत पक्राउ परेका थिए । जसमध्ये ६१ विरुद्ध मात्रै आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर, संगठित अपराध कसुर, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगअन्तर्गतको कसुर लगाइएको छ । बाँकीलाई भने हाजिर जमानीमा छाडिएको छ ।
अभियोग लगाइएकामध्ये राणा र मिश्र हिरासतमुक्त छन् । नेताद्वयविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराध कसुर लगाइएको छ । समितिका कमान्डर प्रसाईंविरुद्ध पनि सोही कसुरअन्तर्गत मुद्दा दर्ता गर्ने तयारी छ ।