कामठाडौँ । मोरङको सुन्दरहरैंचा नगरपालिकाले सामाजिक सद्भाव र पारिवारिक मेलमिलापलाई प्रोत्साहन गर्न ‘उत्कृष्ट ढुकुर जोडी’ कार्यक्रमका लागि आवेदन माग गरेको छ।
नगरप्रमुख केदारप्रसाद गुरागाइँका अनुसार यो कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै पारिवारिक सम्बन्ध र सामाजिक रुपान्तरणमा योगदान पुर्याउने विश्वास गरिएको छ।
नगरपालिकाको न्यायिक समितिमा पति(पत्नीबीचको झैझगडा, लैंगिक हिंसा, गाली-बेइज्जतीलगायतका मुद्दा बढ्दै गएको सन्दर्भमा यस्ता घटनालाई न्यूनीकरण गर्न र उदाहरणीय दाम्पत्य जीवन बिताइरहेका जोडीहरूलाई सम्मान गर्न यो कार्यक्रम आयोजना गरिएको हो। नगरप्रमुख गुरागाइँले छोरा-बुहारी र छोरी-ज्वाइँ दुवैले यो कार्यक्रममा सहभागी हुन सक्ने बताए। इच्छुक ढुकुर जोडीले सूचना प्रकाशित भएको मिति (सात जेठ)ले १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा आवश्यक कागजातसहित निवेदन पेश गर्नुपर्नेछ।
