काठमाडौं । ‘ग्वार्को फ्लाईओभर’को काम अन्तिम चरणमा पुगेसँगै कालोपत्रेको तयारी गरिएको छ । सडक विभागको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका सूचना अधिकारी प्रदीप भण्डारीका अनुसार अहिलेसम्म ८५ प्रतिशत काम सम्पन्न भएको हो । उनका अनुसार मौसमले साथ दिए जेठ मसान्तभित्र ‘ग्वार्को फ्लाईओभर’माथि गाडी गुड्न्ने जनाएको छ ।
रिङरोडमा गुड्ने सवारी साधनहरू ट्राफिक जाममा रोकिनु नपर्ने गरी सरकारले ईपीसी मोडलमा ०७८ फागुन १२ गते निर्माण कम्पनी आशिष समानान्तर जेभीसँग सम्झौता गरेको थियो । सम्झौताअनुसार ०८० फागुन ११ गतेसम्म निर्माण सम्पन्न हुनुपर्ने थियो ।
तर, विभिन्न कारणले पटक–पटक म्याद थप हुँदै आएको छ । निर्माण कम्पनी जेभीले तोकिएको समयमा काम सम्पन्न नगरेपछि सरकारले ०८१ पुस ८ गतेसम्म म्याद थप गरेको थियो । निर्माण कार्य अन्तिम चरणमा पुगेकै बेला कंक्रिटको एउटा प्यानलको ज्वाइन्ट ग्याप बढेको देखिएपछि बनिसकेको पर्खाल भत्काउनुपरेको थियो । त्यसपछि पुनः म्याद थप गरी वैशाखसम्म पुर्याइएको थियो ।
सम्झौताअनुसार तोकिएको समयमा निर्माण सम्पन्न नगरेपछि कम्पनीलाई थप भार थपिँदै गएको छ । केन्द्रका अनुसार म्याद सकिएको पुस ८ गतेदेखि नै निर्माण कम्पनीले कुल बजेटको ०.०५ प्रतिशत हर्जाना तिर्दै काम गर्दै आएको छ ।‘फ्लाईओभर’ निर्माणको को कुल लागत १७ करोड ६ लाख ८८ हजार ८८८ रुपैयाँ छ ।