कञ्चनपुर । कञ्चनपुरका नौ स्थानीय तहमा आर्थिक वर्ष २०८०/८१ मा रु. ३८ करोड ३३ लाख १ हजार बेरुजु रकम देखिएको छ।
महालेखा परीक्षक कार्यालयको ६२औँ वार्षिक प्रतिवेदन अनुसार नौ स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु भीमदत्त नगरपालिकामा आएको छ भने सबैभन्दा कम बेरुजु बेदकोट नगरपालिकामा आएको छ।
प्रतिवेदन अनुसार भीमदत्त नगरपालिकामा रु। १५ करोड १६ लाख ८ हजार बेरुजु आएको छ भने बेदकोट नगरपालिकामा ८२ लाख ७६ हजार बेरुजु देखिएको छ।
यसैगरी बेरुजु बढी आउने पालिकामा बेलौरी नगरपालिका दोस्रो स्थानमा छ। बेलौरीको बेरुजु ६ करोड ७३ लाख ४७ हजार रहेको छ। यस्तै कृष्णपुर नगरपालिकाको बेरुजु ४ करोड ७१ लाख १४ हजार आउँदा दोधरा चाँदनी नगरपालिकाको बेरुजु ३ करोड ८४ लाख ९५ हजार रहेको छ ।
यस्तै पुनर्वास नगरपालिकाको बेरुजु २ करोड ८६ लाख ८ हजार रहँदा लालझाँडी गाउँपालिकाको २ करोड ७५ लाख २६ हजार बेरुजु देखिएको छ । यस्तै बेलडाँडी गाउँपालिकाको २ करोड ७२ लाख १७ हजार रहेको छ भने शुक्लाफाँटा नगरपालिकाको बेरुजु १ करोड १३ लाख २० हजार रहेको छ ।