काठमाडौँ । नवनियुक्त गभर्नर प्रा.डा.विश्वनाथ पौडेलले आज पदभार ग्रहण गर्दै गर्ने भएका छन् । उनलाई आज सर्वोच्च अदालतका प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतले सपथ गराउने कार्यक्रम रहेको छ । सपथलगत्तै पौडेल दिउँसो पदभार ग्रहण गर्न केन्द्रीय बैंकको बालुवाटार कार्यालय जानेछन् ।
अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिले हिजो डा।पौडेल, कायममुकायम गभर्नर नीलम ढुंगाना तिम्सिना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिश गरेको थियो । बेलुका बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको गभर्नरमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको थियो ।सत्ता साझेदार दलबीच झन्डै डेढ महिना लामो रस्साकस्सीपछि राष्ट्र बैंकमा गभर्नर नियुक्त भएको हो । अर्थशास्त्री पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पनि हुन् । अर्थतन्त्रमा देखिएको चुनौतीकाबीच पौडेल १८औँ गभर्नर नियुक्त भएका हुन् ।
यससँगै सत्तासाझेदार कांग्रेस–एमालेबिचको अविश्वासको गाँठो पनि केही खुकुलो भएको छ । अब नवनियुक्त गभर्नर पौडेलका सामु वित्तीय क्षेत्र गतिशील बनाउने अनि राष्ट्र बैंकको गिरेको छवि सुधार गर्नु मुख्य चुनौती रहेको विज्ञले बताएका छन् ।