काठमाडाैँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारका पछिल्ला गतिविधिप्रति असन्तुष्टि जनाउँदै सत्तामा रहेका केही व्यक्तिले आफूखुसी निर्णय गर्ने र त्यसैलाई कानुन ठान्ने प्रवृत्ति देखिएको आरोप लगाएका छन्।
आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले पत्रकारमाथि भएको धरपकड, पक्राउ र अभिव्यक्ति स्वतन्त्रतासँग जोडिएका घटनाले सरकारको अधिकार प्रयोग गर्ने शैलीमाथि गम्भीर प्रश्न उठाएको बताए। केही व्यक्ति पक्राउ परेर छुट्दैमा यो विषय टुंगिन नसक्ने उनको भनाइ छ। सरकारले आफ्नो अधिकारको सीमा र नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई कसरी बुझिरहेको छ भन्ने विषयमा स्पष्ट जवाफ आउनुपर्ने उनले बताए।
थापाले केही सीमित व्यक्तिले आफूलाई नै राज्य ठान्ने र शक्तिको मनपरी प्रयोग गर्ने अवस्था देखिएको टिप्पणी गरे। प्रहरीका पछिल्ला गतिविधिमा माथिल्लो तहबाट निर्देशन आएको हुन सक्ने आशंकासमेत उनले व्यक्त गरे। राष्ट्रिय स्वतन्त्र पार्टीले घटनाबारे वक्तव्य जारी गरे पनि त्यसले मात्रै नपुग्ने थापाको भनाइ छ। गलत काम भएको स्वीकार गर्ने वक्तव्यभन्दा पनि त्यसमा संलग्नमाथि कारबाही र जवाफदेहिता देखिनुपर्ने उनले जोड दिए। उनले रास्वपाले यस विषयलाई संसदीय दलमार्फत प्रधानमन्त्रीसमक्ष पुर्याउनुपर्ने धारणा राख्दै सरकारको कामकारबाहीबारे संसद्मा जवाफ माग्नुपर्ने बताएका छन्।