काठमाडौं ।कोशी प्रदेश जलविद्युत् तथा सौर्य ऊर्जाको उत्पादनमा महत्वपूर्ण केन्द्रका रूपमा विकास हुँदै गएको छ।
नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधिसम्बन्धी वार्षिक प्रतिवेदनअनुसार प्रदेशको कुल विद्युत् उत्पादन क्षमता ९९४ मेगावाट पुगेको छ।प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२ र ८३ को असार मसान्तसम्म कोशी प्रदेशका विभिन्न जिल्लामा निर्माण सम्पन्न भएका ६४ वटा जलविद्युत् आयोजनाबाट ९७७ दशमलव २ मेगावाट विद्युत् उत्पादन क्षमता पुगेको छ। यसमा मोरङको ६ दशमलव ८ मेगावाट क्षमताको ग्रिड जडित सौर्य आयोजना र झापाको १० मेगावाट क्षमताको सौर्य विद्युत् आयोजना थपिँदा कुल क्षमता ९९४ मेगावाट पुगेको हो।
अघिल्लो आर्थिक वर्ष २०८१र८२ मा प्रदेशको कुल विद्युत् उत्पादन क्षमता ७८६ दशमलव ७ मेगावाट थियो। समीक्षा अवधिमा सातवटा नयाँ जलविद्युत् आयोजना सम्पन्न भएसँगै प्रणालीमा थप २०६ दशमलव २ मेगावाट विद्युत् उत्पादन क्षमता थपिएको प्रतिवेदनमा उल्लेख छ।जिल्लागत रूपमा सबैभन्दा बढी विद्युत् उत्पादन सोलुखुम्बुमा भइरहेको छ। त्यहाँका १० आयोजनाबाट ३४९ दशमलव ८ मेगावाट विद्युत् उत्पादन क्षमता रहेको छ। इलामका १८ आयोजनाबाट २०० दशमलव ८ मेगावाट र सङ्खुवासभाका १० आयोजनाबाट १३६ दशमलव ७ मेगावाट विद्युत् उत्पादन भइरहेको छ।
त्यस्तै ताप्लेजुङमा ९८ दशमलव ५, पाँचथरमा ७१ दशमलव ९, ओखलढुङ्गामा ६५ दशमलव १, भोजपुरमा ३१ दशमलव ९, तेह्रथुममा १२ दशमलव ३ र खोटाङमा १० दशमलव २ मेगावाट विद्युत् उत्पादन क्षमता रहेको छ।
अरुण तेस्रोको निर्माण प्रगति ७५ प्रतिशतभन्दा बढी
कोशी प्रदेशको प्रमुख आयोजनामध्ये ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माणले पनि गति लिएको छ। प्रतिवेदनअनुसार २०८३ असार मसान्तसम्म आयोजनाको भौतिक प्रगति ७५ दशमलव ८१ प्रतिशत र वित्तीय प्रगति ६१ दशमलव २८ प्रतिशत पुगेको छ।करिब एक खर्ब ८८ अर्ब रुपैयाँ अनुमानित लागत रहेको आयोजना २०७५ वैशाखदेखि निर्माण सुरु गरिएको हो। यसलाई २०८५ पुससम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजनामा स्वदेशी एक हजार ४४९ र विदेशी एक हजार १८० गरी कुल दुई हजार ६२९ जनाले प्रत्यक्ष रोजगारी पाएको प्रतिवेदनमा उल्लेख छ।
यसैगरी १ हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण र ६३५ मेगावाट क्षमताको दूधकोशी जलविद्युत् आयोजना विकासको चरणमा छन्। यी आयोजना सम्पन्न भएपछि प्रदेशको विद्युत् उत्पादन क्षमता थप विस्तार हुने अपेक्षा गरिएको छ।उत्पादित विद्युत् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन प्रसारण लाइन र सबस्टेसन निर्माणका काम पनि अघि बढिरहेका छन्। अरुण तेस्रोको विद्युत् प्रवाहका लागि निर्माण भइरहेको ४०० केभी क्षमताको २१७ किलोमिटर लामो प्रसारण लाइनको भौतिक प्रगति ५८ दशमलव ६५ प्रतिशत पुगेको छ।
त्यस्तै कोशी करिडोरअन्तर्गत इनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार खण्डमा १०६ किलोमिटर लामो दोस्रो सर्किट तार विस्तारको काम सुरु भएको छ। एक अर्ब ५० करोड रुपैयाँ लागत अनुमान गरिएको यो आयोजना सन् २०२८ मार्चसम्म सम्पन्न गर्ने लक्ष्य छ। त्यसपछि थप दुई हजार मेगावाट विद्युत् प्रसारण गर्न सकिने क्षमता विकास हुने प्रतिवेदनमा उल्लेख छ।
औद्योगिक क्षेत्रमा विद्युत् आपूर्ति सहज बनाउन निर्माण भइरहेको २३ किलोमिटर लामो कुशाहा–विराटनगर १३२ केभी प्रसारण लाइनको भौतिक प्रगति ७९ दशमलव २९ प्रतिशत र वित्तीय प्रगति ८० दशमलव १८ प्रतिशत पुगेको छ।प्रतिवेदनले कोशी प्रदेशमा उत्पादित विद्युत् ढल्केबर–मुजफ्फरपुर र इनरुवा–पूर्णियाजस्ता अन्तरदेशीय प्रसारण लाइनमार्फत भारत तथा बङ्गलादेशसम्म निर्यात गर्न सकिने सम्भावना पनि औँल्याएको छ। अरुण, तमोर र कन्काईजस्ता नदीमा वर्षभरि पानीको बहाव रहने भएकाले प्रदेशमा बाह्रै महिना जलविद्युत् उत्पादन विस्तार गर्ने सम्भावना रहेको प्रतिवेदनको निष्कर्ष छ।