काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत चितवनको बेनीघाट रोराङ गाउँपालिका–९ स्थित मझिमटार खण्डमा सोमबार तीन घण्टा सवारी आवागमन रोकिने भएको छ।
नागढुङ्गा–मुग्लिङ सडक योजना पश्चिम खण्ड, मुग्लिङले सूचना जारी गर्दै सडक निर्माण तथा स्तरोन्नतिको कामका लागि आवागमन बन्द गर्न लागेको जनाएको छ।योजनाका अनुसार कात्तिक १६ गते सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मझिमटार क्षेत्रमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ।उक्त स्थानमा आकाशे पुल निर्माण र सडक स्तरोन्नतिको काम गर्नुपर्ने भएकाले निर्माण कार्यलाई सुरक्षित रूपमा सम्पन्न गर्न सवारी आवागमन बन्द गर्न लागिएको हो।
सडक योजना कार्यालयले उक्त अवधिमा यात्रा गर्ने चालक तथा यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। साथै ट्राफिक नियम र सडक अनुशासन पालना गरी यात्रा गर्न पनि अनुरोध गरेको छ।