काठमाडौँ । काठमाडौँ भित्रिने सडकको मुख्य नाका नागढुङ्गा–नौबिसे सडकखण्ड १५ दिन साढे ४ घण्टा बन्द रहने भएको छ । सो सडक लदिउँसो साढे ४ घण्टा बन्द गरेर निर्माण कार्य गरिने भएको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौँ र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा जेठ १० गतेदेखि २५ गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक खण्ड बन्द गरेर काम गर्न लागिएको जानकारी दिए ।
यसअघि यो खण्ड रातमा बन्द गरेर काम हुँदै आएको थियो । आयोजनाले नागढुङ्गा–पिपलामोड सडक निर्माणका लागि सडक बन्द गर्नुपर्ने आवश्यकता रहेको जनाएपछि स्थानीय प्रशासनसँगको समन्वयमा काम गर्न अनुमति दिइएको हो ।
निर्माण आयोजनाले नागढुङ्गा पिपलामोड सडक निर्माणका लागि यसअघि राति भत्काउने काम भएको र अब निर्माण दिउँसो गर्नुपर्ने भनेर प्रस्ताव आएको थियो । नारायणगढ–मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले सूचना निकालेर काठमाडौँबाट छुट्ने गाडी नागढुङ्गामा र नौबिसेतर्फबाट काठमाडौँतर्फ आउनेलाई खानीखोलामा रोकिने उल्लेख गरेको छ ।
सडकमा काम हुने समयमा धार्के–सितापाइला तथा टोखा–छहरे त्रिशूली गल्छी वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ ।