काठमाडौं । सर्वोच्च अदालतले डा. विश्व पौडेललाई गभर्नर बन्ने रोक नहुने ठहर गरेको छ ।
मंगलबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले गभर्नर बन्नबाट रोक्ने रिट दरपीठ गर्ने सर्वोच्च प्रशासनको यसअघिको आदेश सदर गरेपछि पौडेललाई गभर्नर बन्न बाटो खुलेको हो ।
अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले पौडेल गभर्नर बन्न नमिल्ने भन्दै सर्वोच्चमा गत वैशाख ३० मा रिट दायर गरेका थिए । तर, उक्त रिट सर्वोच्च अदालतले यहि जेठ २ मा दरपीठ गरिदिएको थियो ।
उप्रेती र थापाले पौडेल राजनीतिक दलमा सदस्य भएका व्यक्ति गभर्नर नियुक्त हुन नसक्ने जिकिर गरेका थिए ।
उनी नेपाली कांग्रेसको महासमिति सदस्य तथा निर्वाचनमा पराजित प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेकाले गभर्नर बन्न नमिल्ने भन्दै रिट दायर गरेका थिए ।