काठमाडौँ । नेपथ्यले अस्टिन सहरका दर्शकलाई लोकरक धुन सुनाउँदै यस वर्षको अमेरिका यात्रा प्रारम्भ गरेको छ । टेक्सासको यो राजधानी सहरस्थित हल ‘इमोज’ मा शनिबार बेलुकी ९ बजे नेपथ्य कन्सर्ट सुरु भएको थियो ।
नेपथ्यले भर्खरै सार्वजनिक गरेको गीत ‘कर्नालीका छाइला’लाई ब्यान्डले यसै कन्सर्टमा पहिलोपटक गाएर सुनाएको थियो । नयाँ गीत सुनिरहँदा दर्शक उत्साहित देखिन्थे । यो प्रस्तुतिसँगै यो गीत अब युट्युबमार्फत सबैले निःशुल्क सुन्न र हेर्न पाउने घोषणा ब्यान्डले गरेको छ । यसअघि एक सातासम्म नेपथ्यप्रेमीले यो गीत पैसा तिरेर सुन्दै आएका थिए ।
‘ब्यान्डलाई भरथेग गर्न मन पराउने दर्शकका लागि हामीले पहिलोपटक गरेको सशुल्क हेर्न पाउने व्यवस्था धेरैले रुचाएको पाइयो,’ नेपथ्यका व्यवस्थापक संस्था नेपालयका किरणकृष्ण श्रेष्ठले प्रतिक्रिया दिए, ‘आम दर्शकबाट नेपथ्यप्रति प्रस्तुत यो संरक्षकत्वलाई हामी हार्दिकताका साथ स्वागत गर्छौं ।’ यो गीत सुनेबापत ब्यान्डलाई आर्थिक सहयोग गर्न चाहनेका लागि भने ‘डिजिटल पेमेन्ट’ को ढोका खुलै राखिएको छ ।
कन्सर्टका लागि स्थानीय समयअनुसार बेलुकी ८ बजे इमोज हलका ढोकाहरू खुलेका थिए भने त्यसको ठिक एक घण्टापछि पर्दामा ‘सा कर्णाली’ र ‘मै मरिजाऊँला’ गीत बज्न सुरु भएको थियो । त्यसलगत्तै मञ्चमा उपस्थित ब्यान्डले ‘कोशीको पानी’ बाट प्रस्तुति सुरु गरेको थियो । आठौं क्रममा ‘शिरफूल’ सुनाए लगत्तै ब्यान्डले ‘कर्नालीका छाइला’ प्रस्तुत गरेको थियो ।
अमेरिकाका सातवटा सहरमा शृङ्खलाबद्ध कन्सर्ट प्रस्तुत गर्ने योजनासाथ ब्यान्ड यसै साता टेक्सास आइपुगेको हो । अस्टिनमा नेपथ्यको यो पहिलो कन्सर्ट हो । टेक्सासको अर्को सहर डालासमा भने ब्यान्ड यसअघि पनि दुईपटक प्रस्तुत भइसकेको छ ।
नेपथ्यले एक महिना लामो यात्राको कार्यसूची सहित सातौँपटक अमेरिकाको यात्रा गरिरहेको छ । यात्राको प्रारम्भदेखि नै मुख्य गायक एवं अगुवा अमृत गुरुङले सामाजिक सञ्जाल एक्स र फेसबुकमार्फत ब्यान्डको यस यात्राबारे प्रशंसकलाई अवगत गराउँदै आएका छन् ।
कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।
अमेरिका यात्राको दोस्रो प्रस्तुतिका लागि ब्यान्ड दक्षिणवर्ती राज्य टेक्सासबाट क्यानाडासँग सिमाना जोडिएको उत्तरी वासिङ्टन राज्य पुग्दै छ । उक्त राज्यको सबै भन्दा ठुलो सहर सियाटलमा मे २३ मा नेपथ्य प्रस्तुत हुने तयारी छ । त्यो दिन त्यहाँको ‘मुर थिएटर’ मा बेलुकी ठिक ७ बजे हलका ढोकाहरू खुला गरिनेछन् ।
त्यसपछि ब्यान्ड मे २६ मा क्यालिफोर्नियाको लस एन्जलस, ३१ मा पेन्सिलभेनियाको पिट्सबर्ग, जुन ७ मा इलिनोइसको सिकागो, ११ मा म्यासाचुसेट्सको बोस्टन हुँदै अन्तिममा जुन १४ मा नर्थ क्यारोलाइना राज्यको ग्रिन्सबोरो सहरमा प्रस्तुत हुनेछ ।