काठमाडौँ । अस्ट्रेलियाको भिक्टोरिया राज्यको मेरिबेक सिटी काउन्सिल र भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध कायम गर्ने निर्णय भएको छ । यी दुई स्थानीय निकाय एकआपसको ‘सिटी सिस्टर’ बन्ने भएका छन् । यस निर्णयसँगै भरतपुर महानगरपालिका अस्ट्रेलियाको स्थानीय निकायसँग भगिनी सम्बन्ध बनाउने पहिलो नेपाली स्थानीय निकाय बनेको छ ।
अस्ट्रेलियाको मेरिबेक काउन्सिलले दुई दिनअघि भएको काउन्सिलको बैठकबाट भगिनी सम्बन्ध स्थापना गर्ने प्रस्तावलाई पारित गरेको छ । काउन्सिलका काउन्सिलर क्रिस माइल्सले राखेको प्रस्ताव मेयर हेलेन डेभिडसनसहितबाट सर्वसम्मत पारित भएसँगै दुई स्थानीय निकायबीच सहकार्यको बाटो खुलेको हो ।
यसका लागि भिक्टोरियामा रहेका नेपालीले लामो समयदेखि नै पहल गर्दै आएका थिए । भिक्टोरियास्थित अवैतनिक वाणिज्यदूत नीराजन गौलीले नेपाल र अस्ट्रेलियाका दुई सहरबीच पहिलो पटक भगिनी सम्बन्ध कायम भएको बताए । गौलीले नेपाल र अस्ट्रेलियाबीचको द्विदेशीय सम्बन्धमा यो महत्त्वपूर्ण र अत्यन्तै सकारात्मक कदम भएको जनाए । ‘यसले हामीलाई अस्ट्रेलियाबाट सिक्न मात्र हैन कि दुई देशबीचको सम्बधलाई अझ दरिलो र दृढ बनाउन मद्दत पुग्नेछ ।’
वाणिज्य दूतावासले एक विज्ञप्ति सार्वजनिक गर्दै दुवै स्थानीय निकायबाट आवश्यक तयारी सकेपछि औपचारिक बैठकका लागि पत्राचार गर्ने प्रक्रिया अघि बढाइने बताएको छ । यसका लागि वाणिज्य दूतावासले समन्वय गर्ने उल्लेख गरिएको छ ।
दुई स्थानीय निकायबीचमा आपसी सम्बन्ध स्थापना भएसँगै मुख्य गरेर सांस्कृतिक, दिगो विकास, आपसी सम्बन्धका बारेमा थप जान्ने र सिक्ने अवसर प्राप्त हुनेछ । यसका लागि औपचारिकता दिन र सहमति ९एमओयू० गर्नका लागि दुई निकायका प्रतिनिधिको बैठक चाँडै बस्नेछ । दुई निकायका प्रतिनिधिको बैठकबाट सहमति भएपछि यसले औपचारिकता पाउनेछ । ५० हजारभन्दा बढी नेपालीको बसोबास रहेको भिक्टोरिया राज्यको ठूलो र विकसितमध्येको काउन्सिलले नेपालको स्थानीय निकायसँग सहकार्य गर्नुलाई आप्रवासी नेपालीहरूले ठूलो उपलब्धि मानेका छन् ।
भगिनी सम्बन्ध स्थापना भएपछि दुवै देशका स्थानीय निकायले आपसी भ्रमणमार्फत एकअर्काको निकाय सञ्चालन, स्रोत परिचालनका बारेमा ज्ञान आदानप्रदान गर्नेछन् भने स्रोत व्यवस्थापना तथा विकास तथा सहकार्यका बारेमा समेत काम गर्नेछन् । दुवै देशले तीन तहको सरकार सञ्चालन गरिरहेकाले समेत सहकार्य गर्न सहज हुने बताइएको छ । तीन तहको सरकारको अभ्यासमा अस्ट्रेलिया अनुभवी भएकाले नेपालले धेरै सिक्न सक्ने वाणिज्यदूत गौलीको भनाइ छ ।
सिटी अफमोरलेन्ड स्थानीय सरकारअन्तर्गत रहेको मेरिबेक काउन्सिलमा १ लाख ८१ हजार जनसंख्या रहेको छ भने यस काउन्सिलले चीन, इटाली, इस्ट टिमोर, ग्रिस र टर्कीका सहरसँग समेत भगिनी सम्बन्ध स्थापना गरिसकेको छ ।