काठमाडौँ । सिंहदरबारमा निर्माणाधीन सङ्घीय संसद् भवनको काम समयमै सम्पन्न गर्न नसकेको भन्दै सांसदहरूले ठेकेदारको प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
सिंहदरबारमा निर्माणाधीन सङ्घीय संसद भवनको हालसम्मको प्रगति सम्बन्धमा छलफल गर्न बिहीबार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा बोल्दै सांसदहरूले ठेकेदारले सरकारलाई नटेरेको बताएका छन् ।
समिति बैठकमा नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले ठेकेदारकै कमजोरीले गर्दा सङ्घीय संसद भवनको काम समयमै नसकिएको बताए । उनले ठेकेदारले समयमै काम शुरु नगर्ने, आवश्यक जनशक्तिको प्रयोग नगर्दा काम समयमै सम्पन्न हुन नसकेको बताए। उनले आवश्यक बजेटको कमी नहुँदा समेत काम नहुनु चिन्ताजनक भएको जिकिर गरे ।
समिति बैठकमा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले देश नै ठेकेदारले चलाएको भन्दै सरकारको टिप्पणी गरे । उनले निर्माणाधीन सङ्घीय संसद भवनको हालसम्मको प्रगति हेर्दा थपिएको समयभित्र पनि सम्पन्न हुने कुनै आशा नरहेको बताए । उनले दायित्व अनुसार काम नगर्नेहरूलाई सरकारले कारबाही सुरु गर्नुपर्ने जानकारी दिदैँ उनले थपिएको दुई दिनमा निर्माण सम्पन्न नहुने आशा नरहेकाले पेनाल्टीसहित ठेक्का रद्द गर्नुको विकल्प नरहेको जिकिर गरे।
नेपाली काँग्रेसकासांसद देवप्रसाद तिमलसेनाले निर्माणाधीन सङ्घीय संसद भवनको सात–सात दिनमा कडाइका साथ प्रगति विवरण हेर्नुपर्ने बताए ।समिति बैठकमा नेकपा (एमाले)का सांसद लालप्रसाद सावा लिम्बूले ठेक्का प्रक्रियामा ठेकेदारले काम गर्ने र राज्यले म्याद थपिरहने प्रवृत्ति देखिएको बताए । उनले अहिले नै ठेक्का तोडिहाल्ने स्थितिमा नरहेको बताउँदै कडाइका साथ प्रश्तुत हुन सरकारलाई आग्रह गरे । उनले अबको दुई सय दिनमा पनि काम नभए ठेक्का तोड्ने वा पेनाल्टीसहित कारबाही गर्नुपर्नेमा जोड दिए ।
२०७६ असोज १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भवन निर्माणको शिलान्यास गरेका थिए । तर तीन वर्षमा निर्माण सम्पन्न हुनेगरी ठेक्का सम्झौता गरिएको सङ्घीय संसद् भवन साढे पाँच वर्ष नाघिसक्दा पनि सम्पन्न भएको छैन ।