काठमाडौँ । बेलायती सरकारले आफ्नो अध्यागमन श्वेतपत्र जारी गर्दै बिभिन्न क्षेत्रहरुमा कडा नियमहरू समावेश गरेको छ । आप्रवासन श्वेतपत्र जारी गर्दै बेलायती सरकारले अध्ययन, काम र परिवार सहित बेलायतको आप्रवासन प्रणालीको हरेक क्षेत्रलाई कडा पारेको हो ।
सो श्वेतपत्रमा स्नातक तहको अध्ययनपछि बेलायत बस्न पाउने अवधि घटाइएको छ । हाल सो अवधि १८ महिनामा झारिएको छ । उता, उच्च दक्ष (हाइली स्किल्ड) भिसामा बेलायत आउनेहरूको संख्या भने बढाइने बताइएको छ । यस्तै, बेलायतमा बसोबास गर्न चाहने आवेदक र उनीहरूका आश्रितहरूमा हुनुपर्ने अंग्रेजी भाषाको ज्ञानको स्तर पनि बढाइएको छ । उनीहरूमा अब ए वान लेभलको अंग्रेजी हुनुपर्ने सो श्वेतपत्रमा उल्लेख गरिएको छ ।
यस्तै बेलायतको अंगीकृत नागरिकता लिन चाहनेहरूले अब बेलायतमा १० वर्ष बसोबास गरेको हुनुपर्नेछ । यसअघि सो अवधि पाँच वर्ष रहेको थियो। यसैगरी, बेलायतमा कामदार आवश्यक रहेको क्षेत्रलाई पनि पुनर्विचार गरी साँघुरो बनाइने बताइएको छ । उनीहरूमा हुनुपर्ने अंग्रेजी भाषाको ज्ञानको स्तर पनि बढाइएको छ। यसअघि बी वान स्तरको अंग्रेजी भए पुग्नेमा अब बो टू पुर्याइएको छ ।
यी प्रावधानबाट वर्षमा करिब एक लाख आप्रवासी कटौती हुने प्रारम्भिक अनुमान छ । बेलायतमा गत वर्ष विशुद्ध आप्रवासीहरूको संख्या ७ लाख २८ हजार रहेको थियो ।