काठमाडौँ । नेपाल प्रहरीले आर्थिक मामिलासँग सम्बन्धित मुद्दा हेर्न निम्ति आर्थिक अपराध अनुसन्धान महाशाखाको स्थापना गरेको छ। आर्थिक अपराध, विवादास्पद कारोबार एवं गैरकानूनी आर्थिक परिचालनको रफ्तार बढेपछि प्रहरीले उक्त महाशाखा स्थापना गरेको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी रमेश थापाले बताए ।
आर्थिक अपराधको रफ्तार बढेपछि जिल्ला र इलाका प्रहरी कार्यालयहरुले त्यस्ता मुद्दा हेर्नका निम्ति अलग्गै अनुसन्धान अधिकृत तोक्दै आएका छन् । त्यस्ता मुद्दाको चाप काठमाडौँ उपत्यकाबाहिर भन्दा उपत्यकामा बढी छ । उपत्यका केन्द्रित आर्थिक अपराध अनुसन्धान महाशाखाले उपत्यकाबाहिरका पनि उजुरी र घटनाको अनुसन्धान अधिकार दिने गरी ओएनएम गरिने केन्द्रीय प्रहरी प्रवक्ता थापाले बताए ।
उक्त महाशाखा सञ्चालनका निम्ति प्रहरी प्रधान कार्यालयले माग गरेको दरबन्दी र बजेट अर्थमन्त्रालयले स्वीकृत नगरिसकेको कारण अहिले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मातहत राखिएको प्रवक्ता थापाले बताए । त्यहाँ कार्यरत एसएसपी होविन्द्र बोगटी उक्त महाशाखाका प्रमुख तोकिएका छन् ।