रामेछाप । रामेछापमा निर्माणाधीन पक्की पुल भाँच्चिएको छ । जिल्लाको मन्थली नगरपालिका–६ को कुनाउरीबाट वडा नं ७ भटौलीको ठेडीखोला जोड्ने तामाकोशीमाथि निर्माणाधीन पुल भाँच्चिएको हो ।
निर्माणकै क्रममा गत शुक्रबारसाँझ मन्थली नगरपालिका–६, कुनाउरी र वडा नं ७ मुगीटार जोड्ने पक्की पुल भाँच्चिएको मन्थली नगरपालिका–६ का स्थानीय गोपाल माझीले जानकारी दिए ।
उनका अनुसार चार वटा स्ल्याब रहेको पुलको बिचको स्ल्याब भाँच्चिएको हो । यो पुल २०८२ भदौ अन्तिमसम्म म्याद भए पनि आगामी असारमा निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीले जानकारी दिएको हो । कालिका–कल्पवृक्ष जेभीले निर्माण गरिरहेको पुलको अन्तिम स्ल्याब ढलान भइरहँदा बिचको स्ल्याब भाँच्चिएको हो । आर्थिक वर्ष २०७८/७९ मा सडक विभागको पुल शाखाले ठेक्का लगाएको पुल डिजाइन एन्ड बिल्ड प्रकृतिको हो ।
कुल २३० मिटर लामो उक्त पुलको ११ मिटर चौडाइ रहेको छ । पुलबाट दोहोरो यातायातका साधन सञ्चालन गर्न सक्ने छन् । सरकारले पुल निर्माणका लागि भ्याट र पिएस आइटमबाहेक २२ करोड ५५ लाख ४० हजार रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । उक्त रकममध्ये करिब ६० प्रतिशत रकम निर्माण व्यवसायीले भुक्तानी लिइसकेको छ । दुई महिनाअगाडि नै पुल निर्माणको ९० प्रतिशत काम सम्पन्न गरिसकेको निर्माण कम्पनीले जानकारी दिएको थियो ।
पुलको लट्ठा तन्काउने क्रममा लोड क्षमताको सन्तुलन नमिलेका कारण समस्या आएको भन्ने जानकारी आएको मन्थली नगरपालिकाका इन्जिनियर डिल्लीबहादुर अधिकारीले बताए ।
यो पुल बनेपछि काठमाडौँ–रामेछाप सहज यात्रा हुने आशा गरिएको थियो । यो पुल बनेपछि मन्थली खुर्कोट सडक हुँदै छोटो दुरीमा मन्थली नगरपालिका–७, भटौलीसहित खाँडादेवी र दोरम्बा शैलुङ गाउँपालिकासँगको यात्रा सहज हुने स्थानीयको भनाइ छ ।