काठमाडौँ । भारत र पाकिस्तानबीच युद्धविरामको घोषणा भएको छ। भारतका विदेश सचिव विक्रम मिसरीले दुवै देश युद्धविरामका लागि तयार भएको जानकारी गराएका छन्। जमिन, आकाश र समुद्रमा साँझ ५ बजेदेखि युद्धविराम भएको उनले बताए।
भारत सरकारले युद्धविरामको आधिकारिक जानकारी गराउनुअघि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्ण र तत्काल युद्धविरामका लागि भारत र पाकिस्तान तयार भएको जानकारी गराएका थिए।
ट्रम्पले सामाजिक सञ्जालमार्फत अमेरिकाको मध्यस्थतामा दुवै देश युद्धविरामका लागि तयार भएको बताएका थिए। साथै उनले युद्धविरामका लागि सहमत भएकोमा दुवै देशलाई धन्यवादसमेत दिए। भारतको जम्मु–कश्मिरको पहलगाममा गत अप्रिल २२ मा आतंकवादी आक्रमणमा एक नेपालीसहित २७ जना मारिएका थिए।
उक्त आक्रमणको जवाफमा भारतले मंगलबार राति पाकिस्तानमा सैन्य आक्रमण गरेको थियो। त्यसको जवाफमा पाकिस्तानले पनि आक्रमण सुरु गरेपछि दुवै देशबीच तनाव बढेको थियो।