काठमाडौँ । इजरायलमा हमास समूहले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अझै अज्ञात रहेको छ ।दक्षिणी इजरायलको किबुज–अलमिममा हमास समूहले आक्रमण गरी जोशीलाई बन्धक बनाएको झण्डै २ वर्ष हुन लागेको छ ।
तर उनीसहित एक थाइ नागरिकको अवस्था अझै अज्ञात रहेको इजराली सञ्चारमध्यमहरूले जनाएको छ ।जोशी जीवितै रहेकोमा इजरायली अधिकारीहरूले नै आशंका व्यक्त गरेको द टाईम्स अफ इजरायले जनाएको छ । उनीहरूले विपिन जीवितै रहेको प्रमाण नभेटिएको भन्दै उनी सकुशल रहेकोमा आशंका व्यक्त गरेका हुन् ।
‘युद्ध सुरु भएको केही समयपछिदेखि तीन जना बन्धकहरू जीवित भएको कुनै संकेत प्राप्त भएको छैन,’ समाचारमा भनिएको छ । ती मध्ये दुई जना विदेशी नागरिक हुन् र एक जना इजरायली हुन् ।
इजरायली अधिकारीको भनाइ उद्दृत गदै समाचार अनुसार बन्धक बनाइएकाहरूको जीवित रहेको कुनै संकेत नपाइए पनि दुई विदेशी बन्धकहरूलाई आधिकारिक रूपमा मृत घोषित भने गरिएको छैन । यसरी जीवितै रहेको प्रमाण नभेटिनेमा नेपालका विपिन जोशी र थाइल्याण्डका पिन्टा नट्टापोङ रहेको समाचारमा भनिएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायलले २१ जना बन्धक जिउँदै रहेको बताउँदै तीन जना बन्धक जीवितै रहेकोमा आशंका रहेको जानकारी दिएका थिए ।
यी तीन जना जिवित भएको प्रमाण नभेटिएको कुराको जानकारी उनीहरूका परिवारलाई पनि जानकारी गराइएको टाइम्स अफ इजरायलले लेखेको छ । ‘बन्धक बनाइएका परिवारहरूलाई उनीहरूका प्रियजनहरूको अवस्थाको बारेमा निरन्तर र पूर्ण रूपमा अद्यावधिक गरिन्छ,’ अधिकारी भन्छन्, ‘सबै महत्वपूर्ण जानकारीहरू बन्धक बनाइएका परिवारहरूलाई पुर्याइन्छ ।’
हमासले अझै पनि ५९ जनालाई बन्धक बनाएको छ । यीमध्ये ३५ जनाको मृत्यु भइसकेको छ, जसमा तीन जना विदेशी नागरिक छन्।कञ्चनपुरका जोशी २० असोज २०८०देखि गाजा क्षेत्रमा हमास समूहको नियन्त्रणमा छन् । हमास समूहको आक्रमणमा गत २० असोजमा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने त्यही दिनदेखि कञ्चनपुरका जोशी बेपत्ता थिए ।