काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो तनावबारे नेपालले आधिकारिक धारणा सार्वजनिक गर्दै आतंकवादबिरुद्धको सबै खाले लडाइँलाई नेपालको समर्थन रहने उल्लेख गरेको छ।
परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै पहलगाम आक्रमणमा नेपालले पनि भारतसँग पीडाको ऐक्यबद्धता गरेको उल्लेख गरेको छ। परराष्ट्र मन्त्रालयले पहलगाम आक्रमणमा नेपालले एक नागरिकसमेत गुमाएको र तत्कालै उक्त आक्रमणको कडा शब्दमा भर्त्सना गरेको उल्लेख गरेको छ।
नेपालले दुई देशबीच बढ्दो तनाव कम हुने आशा व्यक्त गरेको छ। साथै यस क्षेत्रको शान्ति र स्थायित्वका लागि नेपाल प्रतिबद्ध रहेको परराष्ट्रले जनाएको छ। यस्तै, नेपालले आफ्नो भूमि छिमिकीहरूविरुद्ध प्रयोग गर्न नदिने बताएको छ।