काठमाडौँ । काठमाडौँको कोटेश्वर तीनकुने चोकमा तीन वटा गाडी ठोक्किएर भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।
आज बिहान बा ३ ख ७०६२ नम्बरको बसले बा प्र०१–०२६ च २९२७ को भ्यानलाई ठक्कर दिएको र भ्यानले बा प्र ०२–०५३ प ३८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए ।
दुर्घटनामा मोटरसाइकल पछाडि बस्ने नुवाकोट घर भई ललितपुरको धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङको ज्यान गएको हो । मोटरसाइकल चालक रामेछाप दोलम्बा– ३ का २७ वर्षीय पदम थापा मगरको उपचार भइरहेको छ ।
भ्यान चालक काभ्रे मण्डनदेवपुर–१ का ३५ वर्षीय रत्नबहादुर सार्की र बसमा रहेका दोलखा गौरीशंकरकी २४ की मेनुका बुढाथोकी घाइते भएकी छन् । उनिहरुको ट्रमा सेन्टर र कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ । बस चालक इलाम सूर्योदय नगरपालिकाका रामबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।