काठमाडौँ । नेपालको पश्चिमी भूभागबाट आज पानी पार्ने बादल विकसित भएर पूर्वतर्फ सरिरहेकाले ठाउँठाउँमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले अझै केही दिन बदली कायम रहने जानकारी गराउँदै सावधानी अपनाउन अनुरोध गरेका छन्।
अहिले नेपालमा स्थानीय र पश्चिमी वायु विकसित छ। अहिले पनि लुम्बिनी र गण्डकीका थोरै भूभागमा पानी परिरहेको मौसमविद् अधिकारीले जानकारी दिए।
उनका अनुसार आज आइतबार र सोमबार बदली रहेको र शविबारको भन्दा केही बढी बदलीको सम्भावना रहेको छ। हल्कादेखि मध्यमसम्म वर्षा हुने भए पनि ठूलो वर्षाको सम्भावना भने कम रहेको उनले बताए। वर्षा नभएका ठाउँमा पनि बदली कायम रहने भएकाले गर्मीबाट केही राहत मिल्ने मौसमविद्ले बताएका छन्।