धनगढी । सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. तारा जोशीले धनगढीमा सञ्चालन गरेको तीन दिने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी वर्कसप सम्पन्न भएको छ । बैशाख १८ गतेबाट सुरु भएको एआई सम्बन्धि वर्कसप कार्यक्रम शनिबार सम्पन्न भएको हो ।
कार्यक्रममा सांसद जोशीले एआईको प्रयोग प्रविधिमा सीमित नरही शिक्षा, स्वास्थ्य, कृषि, पर्यटक, विद्युत, सुरक्षा र प्रशासन क्षेत्रमा ठूलो सम्भावना रहेको बताए । उनले विद्यार्थीहरूलाई यसतर्फ आकर्षित हुन आह्वान पनि गरे ।
सरकारले बजेट कार्यकर्ता रिझ्याउने र कार्यकर्तामुखी बनाउने गरेकाले अबको बजेटमा एआईलाई समेटर लैजान सके सामाजिक र आर्थिक विकाससहित दिगो विकासका लक्ष्य हासिल गर्नसमेत टेवा पुर्याउने भन्दै वर्कसपको आयोजना गरिएको सांसद जोशीले बताए।
कार्यक्रमको समापनमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्का, प्रदेश सांसद, प्रदेश सचिवको सहभागी रहेको थियो ।
कार्यक्रममा सहभागी विद्यार्थी र प्रशिक्षकले सामाजिक विकासमन्त्रीलाई प्रदेशमा एआई सेन्टर स्थापना गर्न ध्यानाकर्षण समेत गराएका थिए ।
सहभागी प्रदेशका प्रतिनिधिले आगामी नीति तथा कार्यक्रममा एआईको क्षेत्रलाई समेट्न दबाब सिर्जना गर्ने धारणा राखेका थिए ।१८ गतेदेखि तीन दिनसम्म चलेको वर्कसपमा कैलाली बहुमुखी क्याम्पस, सुदूरपश्चिमाञ्चल क्याम्पस र नेशनल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीमा व्याचलर अफ इन्फोर्मेशन म्यानेजमेण्ट संकायमा अध्ययनरत विद्यार्थी सहभागी थिए ।
काठमाडौ विश्वविद्यालयका एआई विभागका प्रमुख डा. यज्ञराज पाण्डेय लगायत एआई इन्जिनियरले प्रशिक्षण दिएका थिए ।