धनगढी । सुदूरपश्चिम प्रदेशका स्वतन्त्र प्रदेश सभा सदस्य डा. तारा प्रसाद जोशीले धनगढीमा एआई सम्बन्धी तीन दिने कार्यशाला सेमिनार सुरु गरेका छन् ।
विकासको लागि कृत्रिम बुद्धिमत्ता भन्ने विषयमा केन्द्रित तीन दिने सेमिनार बिहीबार १८ गते देखि धनगढीमा सुरु गरिएको हो । धनगढीका विभिन्न कलेजमा व्याचलर अफ इन्फोर्मेशन म्यानेजमेन्ट अध्ययन गरिरहेका विद्यार्थीहरुलाई एआईको प्रयोग केवल प्रविधिमा सीमित नरही शिक्षादेखि स्वास्थ्य, कृषि, सुरक्षा र प्रशासनसम्म फैलिएको र यस क्षेत्रमा ठूलो करिअर सम्भावना रहेकोले विद्यार्थीहरूलाई यसतर्फ आकर्षित गर्नको लागि सो कार्यशाला सेमिनारको आयोजना गरिएको प्रदेश सभा सदस्य डा. जोशीले जानकारी दिए ।
सुदूपश्चिम प्रदेशको बजेटको दिशा कार्यकर्ता रिझ्याउने , सार्वजनिक खपत मुखी भयो भनेर आलोचना गर्दै आएका डा। तारा जोशीले अबको बजेटमा एआई एक्सिलेन्स सेन्टर लगायत प्रविधी र उत्पादनमुलक होस भनेर दवाव दिन प्रदेश सभामै सो कार्यक्रम चलाएका हुन् । उनका अनुसार उक्त कार्यशालामा कृत्रिम बुद्धिमत्ता (एआई) को विकास, सामाजिक तथा प्राविधिक प्रयोग, र नीति निर्माणमा प्रयोगका सम्भावनाहरूका विषयमा विद्यार्थी र विज्ञहरूसँग अन्तरक्रिया हुनेछ।
२० गतेसम्म सञ्चालन हुने सो कार्यशालाको सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले उद्घाटन गरेका थिए भने सेमिनारमा कैलाली बहुमुखी क्याम्पस, सुदूरपश्चिमाञ्चल क्याम्पस र नेशनल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीका बिआईएम सङ्कायमा अध्ययनरत एक सय भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको छ।