काठमाडौं । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप परिवर्तन गर्न शिक्षक र विद्यालय कर्मचारीलाई आग्रह गरेको छ ।
गत चैत २० दिनदेखि काठमाडौँ केन्द्रित सडक आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घको आन्दोलनका कारण सामुदायिक विद्यालयमा भर्ना अभियान, एसइईको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा प्रभावित हुँदै आएको छ ।
‘तपाईंहरूका जायज मागहरू पूरा हुनुपर्छ । हामीले नि त्यही नै भनेको छौँ तर आन्दोलन निरन्तरता दिए पनि स्वरूप फेर्नुहोस् ।’, सिजपका महासचिव तिलोत्तम पौडेलले भने, ‘शिक्षाको आधारभूत प्रवेश भर्ना अभियान, बाँकी भएकाको नतिजा प्रकाशन र कक्षा १२ को परीक्षा नरोक्न आवश्यक विकल्प खोज्नुहोस् । बालबालिकाको अधिकारप्रति थप सचेत हुनुहोस् ।’
नेपालको संविधानको धारा ३१ ले प्रत्येक नागरिकलाई आधारभूत तहको शिक्षा प्राप्तिको सुनिश्चितता गरेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार मुलुकमा ३४ दशमलव ८४ प्रतिशत बालबालिका रहेका छन् ।