काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले तातो हावाको लहर चल्न सक्ने भएकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ । पछिल्लो समय बढ्दो गर्मीका कारण तातो हावाको लहर चल्ने सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो ।
पछिल्लो समय देशभर तापक्रम बढिरहेको छ । विशेषगरी तराई भेगमा ४० डिग्री सेल्सियस अधिकतम तापक्रम मापन गरिएको मौसमविद् रोजन लामिछानेले बताए ।
‘मधेस प्रदेश, लुम्बिनी र सुदूरपश्चिममा ३८ डिग्री बढी तापक्रम मापन गरिएको छ,’ उनले भने, ‘२ दिन तापक्रम बढ्ने नै देखिन्छ । तातो लहर पनि चल्न सक्छ सतर्कता अप्नाउनुहोला ।’
नेपालमा पछिल्लो समय तातो हावाको लहर (हिट वेभ) हुनसक्ने सम्भावना बढेर गएको छ । तातो हावाको लहरले मानिसलाई मृत्युसम्म पनि गराउन सक्ने भएकाले सावधानी अपनाउनु जरुरी छ । सुरुमा यसले चिलाउने, साना बिमिरा देखिने सम्म हुनसक्छ ।
ती घाउ र बिमिरामा इन्फेक्सन भयो भने ठुला घाउ र खटिरा पनि बन्न सक्ने हुन्छ । तातो हावाको कारण खुट्टा सुनिने, रिँगटा लाग्ने र बेहोस पनि हुन सक्ने हुन्छ । रक्तचाप घट्ने लगायतका लक्षण समेत देखिन सक्छ ।