काठमाडौं । संघीय संसद्को सार्वजनिक लेखा समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियामा भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सभापति तथा सांसद राजेन्द्र लिङ्देन नेतृत्वको अध्ययन समूहले विमानस्थलको स्थलगत अध्ययन गर्दै विमानस्थल निर्माण प्रक्रियामा ठूलो भ्रष्टाचार भएको निष्कर्ष निकालेको हो ।
समितिले तयार गरेको ‘पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन तथा अनुगमन प्रतिवेदन, २०८१’ मा विमानस्थल निर्माणको ठेक्का प्रारम्भमा नै अनियमितता र भ्रष्टाचार भएको उल्लेख गरिएको छ ।
विमानस्थल निर्माणका क्रममा आर्थिक र प्राविधिक दृष्टिकोणले पनि व्यापक अनियमितता भएको र सार्वजनिक खरिद ऐन र प्रचलित मान्यता विपरित भ्रष्टाचारलाई वैद्यता प्रदान गर्ने हिसाबले नीतिगत निर्णय भएको अध्ययन समितिले निष्कर्ष निकालेको छ ।