काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा स्टुअर्ट ल नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले ५६ वर्षीय अस्ट्रेलियन प्रशिक्षक स्टुअर्टलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
स्टुअर्ट अनुभवी प्रशिक्षक हुन् । स्टुअर्ट सन् १९९६ को विश्वकपमा अस्ट्रेलिया उपविजेता बन्दा टिमको सदस्य थिए । स्टुअर्टसँग वेष्ट इन्डिज, श्रीलंका, अमेरिका, बंगलादेश र अफगानिस्तानको मुख्य प्रशिक्षक भएर काम गरेको अनुभव छ ।
अस्ट्रेलियाको राष्ट्रिय टिमबाट स्टुअर्टले ५४ ओडीआई र एक टेस्ट म्याच खेलेका थिए । नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षकका लागि ७० जनाले आवेदन दिएका थिए ।
आवेदन दिएकामध्ये १० जनाको सर्टलिस्ट गरेर क्यानको छनोट समितिले अन्तर्वार्ता लिएको थियो । यस्तै, नेपाली महिला क्रिकेट टिमको कन्सल्ट्यान्ट प्रशिक्षकमा भारतीय प्रशिक्षक मनिष झा नियुक्त भएका छन् ।
भैरहवामा बसेको क्यानको बैठकले सन् २०२५ मेमा हुने विश्वकपको एसियन छनोट प्रतियोगितासम्मका लागि झालाई नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको कन्सलट्यान्ट प्रशिक्षकमा नियुक्त गरेको हो ।
