पोखरा - वरिष्ठ संस्कृतिकर्मी एवम् नृत्य निर्देशक मेनकाजी गुरुङको ६१औं जन्मजयन्तीको अवसरमा आगामी भदौ ८ गते पोखरामा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता आयोजना गरिने भएको छ। हिमाली साँस्कृतिक परिवारद्वारा पोखरा सभा गृहमा आयोजना हुने यस प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको कुरा परिवारका अध्यक्ष ज्ञान बहादुर थापाले जानकारी दिएका छन्।
पुरस्कार तथा सम्मान
प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने विद्यालयलाई ५० हजार रुपैयाँ, दोस्रो स्थानलाई ३० हजार रुपैयाँ, तेस्रो स्थानलाई २० हजार रुपैयाँ, सान्त्वना पुरस्कारस्वरूप १० हजार रुपैयाँ, र उत्कृष्ट नृत्य निर्देशकलाई पनि १० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम संयोजक तथा हिमाली साँस्कृतिक परिवारका उपाध्यक्ष श्रीजंग गुरुङले जानकारी दिएका छन्।
मेनकाजी गुरुङको योगदानको स्मरण
लोकसँस्कृति र नृत्य क्षेत्रप्रति स्वर्गीय मेनकाजी गुरुङको योगदानलाई सम्मान गर्दै, उनको जन्मजयन्तीको अवसरमा वार्षिक लोक संस्कृति संरक्षण र स्रष्टा सम्मानको लागि 'मेनकाजी गुरुङ स्मृति अक्षयकोष' समेत स्थापना गरिएको छ। यस अक्षयकोषमार्फत लोकसंस्कृति र यस क्षेत्रका स्रष्टाहरूलाई निरन्तर सम्मान गरिनेछ।