पाल्पा - तिनाउ गाउँपालिका–२ र ३ जोड्ने तिनाउ खोलामा निर्मित पक्की पुल अहिले जोखिममा परेको छ। निर्माण व्यवसायीले वर्षाको समयमा बक्स कल्भर्ट निर्माणको काम अलपत्र छाडेपछि तिनाउ खोलामा निर्मित पक्की पुल जोखिममा परेको हो।
पुलको अवस्थासम्बन्धी विवरण
सिद्धार्थ राजमार्गको दोभान बजारदेखि चुनुमाया पार्क जाने बक्स कल्भर्ट निर्माणका लागि द लुम्बिनी निर्माण सेवाले गत वैशाख १६ गते ठेक्का सम्झौता गरेको थियो। तर, बक्स कल्भर्ट निर्माणका लागि सडक चौडा गरेर अलपत्र छाडेपछि वर्षायामको भेलले तिनाउ खोलामा निर्मित पक्की पुलतर्फ लेदो र गेग्र्यान बगाएर लगेपछि पुल जोखिममा परेको तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिए।
स्थानीय क्षेत्रको आवातजावतमा असर
यो पक्की पुल भएर दोभानका विभिन्न स्थानका साथै कचल, जुठापौवा, ठिमुरे लगायतका स्थानमा आवातजावत हुने गर्दछ। गाउँपालिकाको पहुँचमार्ग भएकाले पनि यस पुल जोखिममा पर्दा स्थानीय जनतामा चासो बढेको छ। सामान्य पानी पर्दासमेत पक्की पुलमा माथिल्लो भागबाट ढुंगा माटोसहितको लेदो पस्ने गरेको छ, जसले गर्दा पुल हिलाम्मे हुने र साना सवारीसाधनसमेत गुडाउन मुस्किल पर्ने गरेको स्थानीय तोया लम्सालले बताए।
सडक डिभिजन र प्राविधिक दृष्टिकोण
बक्स कल्भर्टको काम गर्दा सिद्धार्थ राजमार्गसमेत जोखिममा परेको सडक डिभिजन पाल्पाले जनाएको छ। सडक डिभिजन पाल्पाका प्रमुख बाबुराम सापकोटाले समन्वय नगरिकन काम गरेकाले राजमार्ग नै जोखिममा पर्ने देखिएको बताए।
अनुगमन र थप कदम
चुरे क्षेत्र पर्ने र तिनाउ खोलाको पुलसम्म व्यवस्थित नाली नहुँदा थप क्षति पुग्न सक्ने प्राविधिकहरु बताउँछन्। पुल जोखिममा परेपछि संघीय सांसद ठाकुर गैरे, नारायण आचार्य, जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले लगायतले स्थलगत अनुगमन गरेका छन्।