काठमाडौं - आइतबार विभिन्न पाँच संसदीय समितिको बैठक बस्ने भएको छ। प्रतिनिधि सभातर्फका दुई र राष्ट्रिय सभातर्फका तीन संसदीय समितिहरूको बैठक आज बस्न लागेको हो।
प्रतिनिधि सभा समितिहरूको बैठक
संघीय संसद सचिवालयका अनुसार, प्रतिनिधि सभातर्फको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति तथा राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ। अन्तर्राष्ट्रिय सम्बन्ध र राज्य व्यवस्था समितिको बैठकमा तारागाउँ विकास समिति र तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको सम्बन्धमा छलफल हुने बताइएको छ। यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा छलफल गरिने कार्यसूची छ।
राष्ट्रिय सभा समितिहरूको बैठक
राष्ट्रिय सभातर्फको विधायन व्यवस्थापन समितिको बैठक दिउँसो २ बजे बस्नेछ। यस बैठकमा मिडिया काउन्सिल विधेयक २०८० माथि दफावार छलफल गरिनेछ।
दिउँसो २ बजे नै बस्ने सार्वजनिक प्रत्यायोजित विधायन समितिको बैठकमा सार्वजनिक नीतिका सन्दर्भमा समितिको कार्यक्षेत्र र सीमा सम्बन्धमा राष्ट्रिय सभा सचिवसँग छलफल गरिनेछ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक दिउँसो १ बजे बस्नेछ। यस बैठकमा बाढी, पहिरो लगायतका मनसुनजन्य घटना एवं विपद् व्यवस्थापन सम्बन्धमा भएका काम कारबाही तथा भावी कार्ययोजना, सिमलताल बस दुर्घटना अध्ययन प्रतिवेदनको निष्कर्ष र कार्यान्वयन कार्ययोजनामा छलफल गरिने कार्यसूची रहेको छ।