पोखरा - कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठलाई पब्लिक फोरके टेलिभिजनले एक लाख रुपैयाँ नगदसहित सम्मान गरेको छ।
श्रेष्ठले एकै सिजनमा तीन पटक सगरमाथा आरोहण गरेर विश्व किर्तिमान बनाएपछि बिहीबार पोखराको न्युरोडस्थित टेलिभिजनको कार्यालयमा आयोजित कार्यक्रममा उनलाई यो सम्मान प्रदान गरिएको हो।
टेलिभिजनका प्रबन्ध निर्देशक मन क्षेत्रीले नगद एक लाख रुपैयाँसहित दोसल्ला ओडाएर सम्मान पत्र प्रदान गरे। गोरखाको आरुघाट गाउँपालिका–१० की श्रेष्ठले सन् २०१८ मा पहिलो पटक सगरमाथा आरोहण गरेकी थिइन् र यसपटकको बसन्त याममा मे १२, मे १९ र मे २५ मा सगरमाथाको सफल आरोहण गरेर विश्व किर्तिमान राखेकी छिन्।
पब्लिक फोरके टेलिभिजनका अध्यक्ष सविन भट्टले श्रेष्ठको अदम्य साहसलाई बढावा दिन एक लाख रुपैयाँसहित सम्मान गर्ने घोषणा गरेका थिए। कार्यक्रममा पत्रकारिता क्षेत्रबाट मिलेको सम्मानले हौसला मिलेको भन्दै पूर्णिमाले खुशी व्यक्त गरिन्। उनले भनिन्, ‘पत्रकार भएपनि यसरी पत्रकारिता क्षेत्रबाट नगदसहित सम्मान पाएको थिइनँ।’
श्रेष्ठले गोरखाको गाउँमा जन्मिएर सगरमाथाको चुचुरोमा पुग्दासम्मको अनुभव पब्लिककर्मीसँग साटिन्। उनले हरेक क्षेत्रमा काम गर्दा कामलाई भारी सम्झन नहुने सुझाव दिइन्।
टेलिभिजनका प्रबन्ध निर्देशक क्षेत्रीले भने, ‘हामीले गरेको सम्मान अदम्य साहस भएको पत्रकारलाई गरिएको सम्मान हो। धेरै जनाको प्रेरणाको स्रोत भएकी पर्वतारोहीलाई सम्मान हो।’
श्रेष्ठले हिमाल आरोहणमा नयाँ पुस्ताको प्रेरणाको स्रोत बन्ने शुभकामना व्यक्त गरिन्। सात वर्षअघि पर्वतारोहण सुरु गरेकी श्रेष्ठले आठ हजार मिटरभन्दा अग्ला आठ वटा हिमाल आरोहण गरिसकेकी छिन्।
श्रेष्ठ फोटो पत्रकारसमेत हुन् र उनले मनास्लु हिमाल चढेर आफ्नो आरोहण यात्रा सुरु गरेकी थिइन्।