पोखरा- नेकपा एमाले स्थायी कमिटी सदस्य किरण गुरुङले गण्डकी प्रदेश इन्चार्जको जिम्मेवारी पाएका छन्।
बिहीबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले गुरुङलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिएका छन्।
यसअघि, प्रदेश इन्चार्जको जिम्मेवारी पार्टी सचिव गोकर्ण विष्टले सम्हाल्दै आएका थिए। पार्टीले संसदीय जिम्मेवारीमा रहेका नेताहरुलाई भुगोलको जिम्मेवारी नदिने कार्यविधि बनाएपछि गुरुङले प्रदेश इन्चार्जको जिम्मेवारी पाएका हुन्।
प्रदेश संरचना बनेपछि प्रदेश संयोजकको जिम्मेवारी पाएका गुरुङले लामो समयपछि प्रदेश इन्चार्जको पुनः जिम्मेवारी पाएका छन्। पञ्चायतकालमा धौलागिरी क्षेत्रमा संगठन विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै साविक धौलागिरी अञ्चल इन्चार्जका रूपमा समेत गुरुङले लामो समय जिम्मेवारी सम्हालेका थिए। २०६२-०६३ को जनआन्दोलनमा धौलागिरी इन्चार्जको रूपमा गुरुङले आन्दोलनको अगुवाई गरेका थिए।
एमाले सचिवालय बैठकले कोशी प्रदेशमा शेरधन राई, मधेश प्रदेशमा लिलानाथ श्रेष्ठ, बागमती प्रदेशमा डा. राजन भट्टराई, लुम्बिनी प्रदेशमा पद्मा अर्याल, कर्णाली प्रदेशमा गोरख बहादुर बोगटी, र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ।
पार्टी सचिव पद्मा अर्याल यसअघि पनि लुम्बिनी प्रदेश इन्चार्जको जिम्मेवारीमा रहेकी थिइन्। उनलाई यथावत् भूमिका दिइएको छ। सचिव लेखराज भट्टलाई कर्णालीबाट गृह प्रदेश सुदूरपश्चिमको जिम्मेवारी दिइएको छ।
यसअघि कोशीमा रघुविर महासेठ, मधेश प्रदेशमा योगेश भट्टराई, बागमतीमा गुरु बराल, र सुदूरपश्चिममा छविलाल विश्वकर्मा इन्चार्ज रहेका थिए। पार्टी सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराई, रघुविर महासेठ, र छविलाल विश्वकर्मा सांसद रहेका कारण दोहोरो जिम्मेवारी नदिइएको जनाइएको छ।
सचिवालय बैठकले पार्टी उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि खाली रहेको उपाध्यक्ष पदमा स्थायी कमिटी सदस्य गुरु बराललाई मनोनित गरेको छ।