पर्सा - वीरगंज -पथलैया औद्योगिक करिडोर अन्तर्गत पर्ने सिर्सिया नदीमा फोहोर फाल्ने उद्योगीहरूलाई कडा कारबाही गर्न सांसद विना जैसवालले पाँचजना मन्त्रीलाई भेटेर माग गरेकी छिन्।
जितपुर सिमरा उपमहानगरपालिका, परवानीपुर गाउँपालिका, र वीरगंज महानगर अन्तर्गतका स्थानीय निकायहरूमा रहेका ६३ वटा उद्योगले सिर्सिया नदीमा फोहोर फालेर नदी प्रदूषित भएको भन्दै जैसवालले मन्त्रीहरूलाई ध्यानाकर्षण गराएकी हुन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद जैसवालले खानेपानी मन्त्री प्रदीप यादव, गृह मन्त्री रमेश लेखक, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसिया, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई ध्यानाकर्षण पत्र बुझाउँदै दोषी उद्योगीहरूलाई कारबाही गर्न आग्रह गरिन्। उनले वातावरण संरक्षण र सिर्सिया नदीलाई स्वच्छ बनाउन तुरुन्त कदम चाल्नुपर्ने आवश्यकता औंल्याएकी छिन्।
सांसद जैसवालले वीरगंज पथलैया औद्योगिक करिडोरमा रहेका ६३ वटा उद्योगले गरेको प्रदूषणले स्थानीयको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै संघीय सरकारलाई प्रदूषण नियन्त्रणका लागि स्थानीय निकाय र सम्बन्धित निकायसँग समन्वय गर्न आग्रह गरिन्। नदी प्रदूषणको समस्यालाई दिगो समाधान गर्न उनले संघीय तहबाट नै पहल गर्नुपर्नेमा जोड दिएकी छिन्।