पोखरा – माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकार ढलेर केन्द्रमा एमाले र कांग्रेसको गठबन्धन बने पनि गण्डकी प्रदेशमा भने सरकार पुनर्गठनको प्रक्रिया सुस्त छ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दीपक मनाङे उर्फ राजीव गुरुङ र नेपाल समाजवादी पार्टीको समर्थनमा बहुमत प्राप्त गरेका छन्। तर, अहिले मुख्यमन्त्री पाण्डे स्वास्थ्य उपचारका लागि भारत गएका कारण सरकार पुनर्गठनको काममा ढिलाइ भएको छ। उनी १९ गते मात्रै पोखरा फर्किनेछन्।
एमालेले सरकारमा सहभागी नहुँदै पाण्डे सरकारले प्रदेश नीति तथा योजना आयोगलाई पूर्णता दिएको छ र अन्य नियुक्तिहरूका लागि पनि काम थालिएको छ। यस विषयमा एमाले गण्डकीले कडा आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको छ।
एमाले गण्डकीका सचिव धनञ्जय दवाडीद्वारा जारी विज्ञप्तिमा सरकारको पछिल्लो निर्णयले दीर्घकालीन असर पार्ने भन्दै गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। विज्ञप्तिमा दलहरू बीच छलफल, समन्वय, र सहकार्यका आधारमा मात्रै आगामी दिनमा सरकार सञ्चालन गर्न आग्रह गरिएको छ।
विज्ञप्तिमा एमाले र कांग्रेसको सहमतिमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नेतृत्वमा दुई तिहाई मतको विश्वास प्राप्त गरी सरकार गठन भएको उल्लेख छ। केन्द्रीय राजनीति अनुसार प्रदेश स्तरमा दलहरू बीच समन्वय भई सरकार गठन र पुनर्गठन भइरहेको बेला गण्डकीमा एमालेले सरकारका निर्णयहरूप्रति चासो देखाएको हो।
हाल गण्डकीमा ७ मन्त्रालय रहेका छन्। मुख्यमन्त्री पाण्डेले पुराना सहयात्रीलाई छाड्न नचाहेको बताइएको छ भने एमालेले अब दुई दलको मात्र सरकार बनाउने अडान लिएको छ। पुराना सहयात्रीलाई समेटेर सरकार विस्तार गर्दा मन्त्रालय फुटाउनुपर्ने अवस्थाले चुनौती थपिएको छ।