जनकपुरधाम — धनुषाधाम नगरपालिका–२ मंगलपुरका ४५ वर्षीय भोगेन्द्र ठाकुरको कुटपिटबाट हत्या भएको घटनाले जनकपुरधाममा तनाव बढेको छ।
मिटरब्याजको समस्याले पिडित भोगेन्द्र ठाकुरको शवसहित उनका आफन्त र मिटरब्याज पीडितहरुले मंगलबारदेखि प्रदर्शन गरेका छन्। जनकपुरधामस्थित स्वर्गद्वारी स्मसानघाटमा मंगलबारदेखि नै शव राखेर मिटरब्याज पीडितहरु धर्नामा बसेका हुन्। ठाकुरको शव प्रादेशिक अस्पतालले पोस्टमार्टम गरेर आफन्तलाई जिम्मा दिएपछि जलाउन लगिएको थियो, तर मिटरब्याज पीडित भएकाले र उनको हत्या मिटरब्याजीको योजनामा भएको दाबी गर्दै शव जलाउन रोकिएको हो।
मंगलबारदेखि जारी प्रदर्शनमा बुधबार पनि सयौंको संख्यामा पीडितहरु सहभागी भएका थिए। ठाकुरको सोमबार बिहान घरमै कुटपिट गरी हत्या भएको थियो भने उनकी श्रीमती श्यामु ठाकुर गम्भीर घाइते भएकी छन्।
धनुषाका प्रहरी प्रवक्ता रञ्जन अवाका अनुसार हत्या आरोपमा स्थानीय ४५ वर्षीया सुरजी मुखिया र उनका छोरा २१ वर्षीया नागेश्वर मुखिया पक्राउ परेका छन्। घटनापछि मिटरब्याज पीडित संघर्ष समितिले मृतक ठाकुर मिटरब्याज पीडित रहेको बताएको छ र हत्या स्थानीय मिटरब्याजी शिवजी यादवको योजनामा भएको दावी गर्दै उनीसहित घटनामा संलग्न अन्यलाई पनि पक्राउ गर्न माग गरेको छ।
मिटरब्याज पीडित संघर्ष समितिका अध्यक्ष मनोज पासवानले शिवजी यादवलाई पक्राउ नगरेसम्म शव नजलाउने अडान लिएका छन्। पासवानका अनुसार मृतक ठाकुरले शिवजीबाट ३ लाख ५० हजार रुपैयाँ ऋण लिएका थिए र उचित ब्याजसहित साँवा दिन तयार भएपनि शिवजीले नमानेकाले विवाद भएको थियो।
शिवजीले पटक पटक ज्यान मार्नेसम्मको धम्की दिएपछि ठाकुरले जिल्ला प्रहरी कार्यालय धनुषामा मिटरब्याजसम्बन्धी उजुरी दिएका थिए। यसै निहुँमा शिवजीकै योजनामा हत्या भएको हुन सक्ने पासवानको आरोप छ।
मिटरब्याज पीडितहरु ठाकुरको शव जलाउन सुरजी मुखिया, मुकेश मुखिया, सुरज मुखिया, चान्दी मुखिया र मनिष मुखियालाई पक्राउ नगरेसम्म अडान लिएका छन्।