काठमाडौं - रातभर परेको भारी वर्षाले काठमाडौं उपत्यकाका तीनै जिल्लामा ठूलो क्षति पुर्याएको छ। बागमती नदीमा आएको बाढीले सडकहरू डुबाएको छ र धेरै स्थानहरूमा पानी पसेको छ।
ललितपुरको च्यासलमा रहेको नेकपा एमालेको केन्द्रीय कार्यालय अगाडिको बागमती नदीको पुलबाटै बाढी बगेको थियो। अहिले सो क्षेत्रमा बाढीको सतह केही घटे पनि सडक हिलोले भरिएको छ, जसले गर्दा आवागमन कठिन भएको छ। एमाले कार्यालय, फुटबल मैदान, अस्थायी प्रहरी पोष्ट, र पार्टी प्यालेसमा बाढी पसेको छ।
सानेपाको बल्खुदेखि शंखमुलसम्मको बागमती किनारको सडक र राम मन्दिर क्षेत्रमा बाढी पसेर हिलो भएको छ। इमाडोलको किस्ट अस्पताल, पवन प्रकृति स्कुल, र महालक्ष्मी नगरपालिका ७ चाँगाथलीमा गोदावरी खोलाको बाढी बस्तीमा पसेको छ।
ललितपुरको कुपण्डोलस्थित १ नम्बर वडा कार्यालय तथा काठमाडौंका शंखमुल पार्क, सुकुम्बासी बस्ती, श्रमिक कान्ति कजेल, र ननस्टप बसपार्कमा बागमतीको बाढी पसेको छ। कालिमाटी तरकारी बजार क्षेत्रमा पनि बाढी पसेर क्षति पुर्याएको छ।
भक्तपुरको पुरानो जगाती पुल नजिकको एक कपास उद्योग र चाँगुनारायण नगरपालिका–८ को एक फर्निचर उद्योगमा बाढीले क्षति पुर्याएको छ। भक्तपुर जिल्ला प्रहरी परिसरले जानकारी दिएको छ।
काठमाडौं उपत्यकाका अधिकांश वर्षा मापन केन्द्रहरूमा मध्यमदेखि भारी वर्षा भएका कारण खोलाहरूको जलसतह खतराको तहसम्म पुगेको थियो। जल तथा मौसम विज्ञान विभागले एसएमएस र सामाजिक सञ्जालमार्फत खोला किनारका बाटोमा यात्रा नगर्न र आज बिहान १० बजेसम्म सतर्कता अपनाउन आग्रह गरेको छ।
बागमतीसहित मनोहरा, हनुमन्ते, र गोदावरी नदीमा बाढीको सतह खतराको तहसम्म पुगेको थियो। बागमती नदीको गौरीघाट मापन केन्द्रमा भने बाढीको सतह घट्दै गएको देखिएको छ।