पोखरा - नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कास्कीले स्कुल बस सेवाको सुधार गर्न पाँच बुँदे माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई २४ घण्टे अल्टिमेटम दिएको छ। निजी विद्यालयका बससम्बन्धी समस्याहरू समाधान गर्न र संयुक्त बैठक बोलाउन आग्रह गर्दै अनेरास्ववियुले प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाएको हो।
अनेरास्ववियुका जिल्ला अध्यक्ष सन्तोष पोखरेलले जानकारी दिएअनुसार, ध्यानाकर्षण पत्रमा विद्यार्थी ओसारपोसार गर्ने बसहरूको नियमित चेकजाँच गर्न, पुराना बसहरूको खोजी गर्न, विद्यालय बसको गति तोक्न, सिट क्षमताभन्दा बढी विद्यार्थी राख्नेलाई कारबाही गर्न, अन्य व्यवसायमा सञ्चालन हुने बसहरू विद्यालयले प्रयोग गर्न रोक लगाउन, दुर्व्यसनीमा लागेकालाई बस चलाउन नदिन, र नियमित परीक्षण गर्न माग गरिएको छ।
यसका साथै, अनेरास्ववियुले जिल्ला शिक्षा कार्यालय कास्की, प्याब्सन, एन-प्याबसन, र हिसान कास्कीको संयुक्त बैठक बोलाउन र मागबारे छानबिन गर्न समिति गठन गर्न माग गरेको छ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले मंगलबार दिउँसो २ बजेलाई कार्यालयमा संयुक्त बैठक बोलाएको अनेरास्ववियु कास्कीका सचिव रवि क्षेत्रीले जानकारी दिए। ध्यानाकर्षण पत्र बुझाउन केन्द्रीय सदस्य एवं कास्की इन्चार्ज अनुप लामिछाने, केन्द्रीय सदस्य रोशन भट्टराई, विष्णु पोख्रेल, विनय पराजुली, कुमार गौतम, र किशोर सुवेदी लगायतका प्रतिनिधिहरू उपस्थित थिए।
यसअघि, सोमबार बिहान पोखरा-२१ छरछरेमा स्कुल बस पल्टिँदा एल.पी देवकोटा स्कुलका कार्यालय सहयोगी आरती विक र उनका छोरा प्रिन्स विकको मृत्यु भएको थियो। यस दुर्घटनामा २८ जना विद्यार्थी घाइते भएका छन्।

1722255942.jpeg)