काठमाडौं - सहकारी छानबिन संसदीय समितिले सहकारीको रकम अपचलन गरी देश बाहिर भागेका १८ जनालाई तत्काल स्वदेश फर्काउन सरकारलाई निर्देशन दिएको छ।
समितिको सोमबार बसेको बैठकले सहारा, सूर्यदर्शन लगायतका सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेका जीबी राईलाई तत्काल स्वदेश फर्काउन निर्देशन दिएको हो। सूर्यदर्शनका ज्ञानबहादुर बम्जन, थानबहादुर राई, भुपेन्द्र राई, सानोपाइलाका तस्विरन खातुन र अश्रफ अली, सहारा तथा सुप्रिमका सुवास केसीलाई पनि झिकाउन भनिएको छ।
यस्तै सुमेरु सहकारीको रकम अपचमलनमा संलग्न भएको आरोप लागेका भरत महर्जन, उनको श्रीमती माजमाया, छोरा सचिन र छोरी सरलालाई पनि तत्काल नेपाल ल्याउन भनिएको छ।
शिवशिखरका तेजबहादुर बम्जन तामाङ, इमेज सहकारीका अध्यक्ष देवकुमार नेपाली र उनकी श्रीमती छेदा, व्यवस्थापक दिपक पौडेल, शिवशिखर सहकारीका लीलानाथ गौतम, कान्तिपुर सेभिङका प्रेमध्वज लामा र मेघाड्रिमका महाशंकर रेग्मीलाई पनि स्वदेश फर्काउन र छानबिन समितिको दायरामा ल्याउन गृहमन्त्रीलाई निर्देशन दिएको छ।
समिति सभापति सूर्य थापाले भने, “कति अमेरिका, कति बेलायत, कति मलेसिया, कति भारत र कतिको स्थिति अज्ञात रहेको हुनाले उहाँहरूलाई खोज्न, स्वदेश फर्काउन र छानबिन समितिको दायरामा ल्याउन माननीय गृहमन्त्रीलाई आग्रह गरेका छौं। उहाँहरूलाई छानबिनको दायरामा ल्याएपछि मात्र छानबिन एउटा निष्कर्षमा पुग्नसक्छ।”
समितिले सहकारीको मुद्दामा थुना वा प्रहरी हिरासतमा रहेका २४ जनासँग सोधपुछ गर्ने निर्णय गरेको छ। त्यसको सूची गृहमन्त्रीलाई दिएको भन्दै सभापति थापाले भने, “बाहिर भएका व्यक्तिहरूलाई बोलाएर छलफल गर्छौं। कारागारमा भएकाहरुसँग सोधपुछ गर्न आवश्यक जनशक्ति र समय प्रबन्ध गर्न गृहमन्त्री र सचिवलाई भनेका छौं।”